Government of Nepal
Ministry of Commerce
Singhadurbar, Nepal

वाणिज्य सचिव तथा बंगलादेशका राजदूतबीच शिष्टाचार भेट

By MOC | 2017-11-10
To

यही २०७४ कार्तिक २४ गते शुक्रवार वाणिज्य सचिव श्री चन्द्रकुमार घिमिरेसँग नेपालका लागि बंगलादेशका महामहिम राजदूत H.E. Ms. Mashfee Binte Shams ले शिष्टाचार भेट गर्नुभयो । उक्त शिष्टाचार भेटका अवसरमा नेपाल र बंगलादेशबीच व्यापार तथा पारवहन सहजीकरण एवं लगानी प्रवर्द्धन लगायतका विषयमा विस्तारमा छलफल भयो । छलफलका दौरान वाणिज्य सचिव श्री घिमिरेले नेपाल र बंगलादेशबीच व्यापार तथा लगानीको प्रशस्त सम्भावनाका बाबजुद व्यापारले त्यति गति लिन नसकेकोमा आगामी दिनमा दुवै पक्षबाट व्यापार प्रवर्द्धनका लागि ठोस पहल गर्न जरुरी भएको कुरा राख्नुभयो । सचिव घिमिरेले बंगलादेशले नेपाललाई उपलब्ध गराएको पारवहन मार्गको उपयोगको क्रममा नेपाली व्यापारीहरुले प्रक्रियागत समस्याका अतिरिक्त पूर्वाधारजन्य सीमितताका कारण भोगिरहनुपरेका जटिलताहरुलाई यथाशक्य निवारण गरी नेपालको व्यापार लागत घटाउन सहयोग गरिदिन बंगलादेश सरकारसँग अनुरोध गर्नुभयो । उहाँले विगतमा बंगलादेशमा ठुलो परिमाणमा निर्यात भइरहेको नेपालको अम्रिसो कुचो लगायतका वस्तुमा बंगलादेश सरकारले हालका दिनमा उच्च भन्सार महसुल लगाएको कारण निकासीकर्ताहरुलाई मर्का परिरहेको र नेपाली धागोको आयातमा लगाइएको प्रतिबन्धले नेपालको बंगलादेशतर्फको निर्यात प्रभावित हुन पुगेको हुँदा यस विषयमा आवश्यक सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । साथै, नेपाली व्यापारीहरुले बंगलाबन्ध भन्सार नाकामा झेल्नुपरेका समस्याहरु बारेमा पनि बंगलादेशी पक्षलाई जानकारी गराउनुभयो । भेटमा बंगलादेशको ढाकामा आगामी सन् २०१८ को जनवरी महिनामा आयोजना हुने Dhaka International Exhibition मा नेपालको सहभागिता सम्बन्धी विषयमा पनि छलफल भएको थियो । भेटमा दुवै देशका वाणिज्य सचिवस्तरीय बैठक दुवै पक्षलाई अनुकूल हुने समय पारी यथाशीघ्र काठमाण्डौमा आयोजना गर्ने सम्बन्धमा पनि छलफल  भएको थियो ।
 
२४ कार्तिक २०७४