Government of Nepal
Ministry of Commerce
Singhadurbar, Nepal

दशौँ साउथ एशिया इकोनोमिक समिटको आयोजना

By MOC | 2017-11-17
To
काठमाण्डौ

दक्षिण एशिया क्षेत्रका राष्ट्रहरुबीच व्यापार, पारवहन तथा लगानी सम्बन्धलाई सुृदृढ बनाई आर्थिक सहयोग र सम्बन्धलाई थप दरिलो बनाउने तथा क्षेत्रीय एकीकरणलाई थप मजबुत बनाई यस क्षेत्रको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउने उद्देश्यका साथ राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय र South Asia Watch on Trade Economics and Environment (SAWTEE) को संयुक्त तत्वावधानमा काठमाण्डौंमा मिति २०७४ कार्तिक २८ गतेदेखि ३० गतेसम्म दशौँ South Asia Economic Summit (SAES)  आयोजना  गरियो । उक्त सम्मेलनको मु्ख्य Theme ''Deepening Economic Integration for Inclusive and Sustainable Development in South Asia'' रहेको थियो । तीन दिन सम्म चलेको उक्त South Asia Economic Summit मा सार्क क्षेत्रका मुलुकहरुबीच व्यापार, लगानी, पर्यटन, सम्पर्क विस्तार, व्यापार अवरोध न्यूनीकरण तथा क्षेत्रीय एकीकरण सुदृढीकरण गर्ने लगायतका विभिन्न विषयमा दक्षिण एशिया क्षेत्रका नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, मालदिभ्स लगायतका विभिन्न मुलुकहरुका सरकारी तथा निजी क्षेत्रका उच्चस्तरका नीति निर्माताहरु, उद्यमी, व्यवसायी, प्राज्ञिक व्यक्तिहरुबीच १ दर्जनभन्दा बढी विभिन्न सत्रमा गहन छलफल तथा विचार विमर्श भएको थियो । उक्त सम्मेलनमा सार्कका आठवटै मुलुकहरुबाट गरी करिब दुई शय वरिष्ठ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 
सम्मेलनमा नेपालका वाणिज्य मन्त्री श्री मीनबहादुर विश्वकर्माज्यूको निमन्त्रणामा भुटानका आर्थिक मामिला मन्त्री Lyonpo Lekey Dorji र मालदिभ्सका आर्थिक विकास राज्यमन्त्री Abdul Latheef Mohamed पनि सहभागी हुनुभएको थियो । 
 
सम्मेलनको उद्घाटन माननीय अर्थ मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीबाट भएको थियो भने कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत मन्तव्य राख्ने तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्ने काम सावतीका अध्यक्ष डा. पोषराज पाण्डेबाट भएको थियो । उद्घाटन सत्रको अध्यक्षता राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले गर्नुभएको थियो । उद्घाटन सत्रमा माननीय वाणिज्य मन्त्रीज्यूले विशेष मन्तव्य राख्दै सार्क क्षेत्रका मुलुकहरुबीच व्यापार, लगानी तथा सम्पर्क विस्तारका लागि एक आपसमा मिलेर काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । एक्काइसौँ शताब्दीमा पनि सार्क क्षेत्रका मुलुकहरु गरिबी, अभाव, विपन्नता र कुपोषणबाट ग्रस्त हुनुपरेको कुरालाई औँल्याउँदै माननीय वाणिज्य मन्त्रीले यस क्षेत्रबाट गरिबी हटाउन र आर्थिक वृद्धिदरलाई माथि उकास्न SAFTA, SATIS जस्ता संयन्त्रको प्रभावकारी उपयोग हुनुपर्ने कुरामा प्रकाश पार्नुभएको थियो । 
 
सम्मेलनको दौरान विभिन्न साइड इन्भेन्ट्सहरु आयोजना भएकोमा त्यसमा वाणिज्य मन्त्रालयका सचिव श्री चन्द्रकुमार घिमिरे, सहसचिव द्वय श्री तोयनारायण ज्ञवाली र रवि शंकर सैँजुले पनि विभिन्न सत्रमा मोडरेटर तथा प्यानेलिस्टको रुपमा आ–आफ्नो विचार राख्नुभएको थियो । वाणिज्य सचिव घिमिरेले UNLEASHING THE POTENTIAL OF INTRAREGIONAL TRADE विषयको सत्रमा अध्यक्षता गर्नुभएको थियो । 
 
सम्मेलनमा सहभागी हुने क्रममा नेपाल भ्रमणमा आउनु भएका भुटान तथा मालदिभ्सका माननीय मन्त्रीज्यूहरुले माननीय वाणिज्य मन्त्रीज्यूसँग मिति २०७४ कार्तिक २९ गतेका दिन उहाँकै कार्यकक्षमा  शिष्टाचार भेट पनि गर्नु भएको थियो । 
 
दुवै देशका माननीय मन्त्रीज्यूहरुलाई आफ्नो कार्यकक्षमा छुट्टाछुट्टै स्वागत गर्दै माननीय मन्त्री श्री विश्वकर्माले नेपाल र भुटान तथा नेपाल र मालदिभ्सबीच वषौँदेखि रहिआएको पारस्परिक मित्रता, सद्भाव र आर्थिक तथा व्यापार सम्बन्धलाई आगामी दिनमा थप प्रवद्र्धन गरी दुवै देशका जनतालाई आर्थिक लाभ पु¥याउन दुई पक्षबीच सहकार्यलाई अगाडि बढाउन जरुरी भएको कुरा औँल्याउनुभयो । भेटका क्रममा माननीय मन्त्रीज्यूले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनलाई थप मजबुत बनाई आगामी दिनमा सदस्य मुलुकहरुबीच व्यापार, लगानी तथा आर्थिक सहयोगलाई थप विस्तार गरी यस क्षेत्रको समृद्धिका लागि मिलेर काम गर्नु आवश्यक भएको कुरा बताउनुभयो । 
 
भेटका क्रममा भुटानका आर्थिक मामिला मन्त्री श्री दोर्जीले नेपाल र भुटानबीच धार्मिक, सांस्कृतिक लगायतका विभिन्न पक्षमा समानता रहेको कुरा राख्दै नेपाल र भुटानबीच व्यापार, पर्यटन, लगानीका क्षेत्रमा सहयोग बढाई दुवै मुलुकले प्रशस्त पारस्परिक लाभ लिनसक्ने कुरा बताउनुभयो । यस क्रममा उहाँले नेपाल र भुटानबीच हाल प्रारम्भिक चरणमा रहेको स्वतन्त्र व्यापार क्षेत्र सम्झौताको विषयलाई चाँडै टुङ्गोमा पु¥याउन आवश्यक भएको कुरा औँल्याउनुभयो ।  
 
यसैगरी मालदिभ्सका आर्थिक विकास राज्यमन्त्री श्री महमुदले नेपाल र मालदिभ्स भौगोलिक रुपमा टाढा रहेता पनि भावनात्मक रुपमा नगिच रहेको र दुवै मुलुक दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य भएको हुँदा द्विपक्षीय तथा क्षेत्रीय स्तरमा व्यापार, पर्यटन, लगानी प्रवद्र्धन गरी दुई मुलुकहरुले दुई पक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने प्रशस्त सम्भावना रहेको कुरा औँल्याउनुभयो । दुई मुलुकबीच व्यापार र पर्यटनलाई थप गति दिन दुई पक्षबीच हवाई मार्ग लगायत विभिन्न माध्ययमबाट सम्पर्क (Connectivity) विस्तार गर्नु जरुरी भएको कुरा उहाँले भेटका क्रममा राख्नुभयो ।
 
वाणिज्य मन्त्रालय
१ मंसिर २०७४